बाह्र भदौ किन मानिन्छ ?
✍️बीजी मगर
अठार मगराँत क्षेत्रका मगर लगायत गैरमगर समुदायले विशेष गरी चन्द्रमास र सौर्यमासको आधारमा चाँड पर्वहरु मान्ने गर्दछन् । चन्द्रमासमा चैते अस्तमी, बैसाखे पुर्णिमा, जेठ पुर्णिमा, रिखीतर पुर्णिमा, दवारा (कात्तिके औँसी) र मंसिरे पुर्णिमा इत्यादि मान्ने गर्दछन् भने सौर्यमासको आधारमा माघ संकराँती (नयाँ वर्ष, उँदेलीको बिदाइसँगै उभेलीको स्वागत र चेलीबेटी पुज्ने पर्व साथै गाजाबाजा बन्द गर्ने समय), जेठ संकराँती (माघ संकराँतीमा बन्द गरिएका गाजाबाजा फुकाउँने), असार संकराँती (जमिन पुज्ने), साउन संकराँती/तिवार (आगो पुज्ने र लुतो फाल्ने), भदौ/घ्युवाँरे संकराँती (घ्यु खाने) र बाह्र भदौ इत्यादि हुन् ।
यिनै पर्वहरु मध्य बाह्र भदौलाई पनि मूख्य पर्वको रुपमा नै मान्ने गरिन्छ । बाह्र भदौ मान्ने मूख्य कारणहरु निम्न लिखित छन् ।
१. अंशपुरुष खेर्ने :
वर्षभरिमा लेकबेँशी गर्ने र देशप्रदेश घुम्ने भएकोले आफूसँग नरही आत्मा वा सातोहरु त्यही ठाउँ ठाउँमा डुल्दै हराउने र आइतापाइता (मर्नका लागि सुरसार) सार्दै गरेको आत्माहरुलाई जम्मा गर्दै ग्रहदशा शान्त गर्ने कार्यलाई अंशपुरुष खेर्ने गरिन्छ । यो कार्य ठाउँ अनुसार फरक-फरक रुपले मान्ने र गर्ने गरिन्छ । धेरै जसो ठाउँमा परिवारका प्रत्येक सदस्यले वर्ष नागेका एक-एक ओटा जिनो भालेको रगत सेवन गरेर अंशपुरुष खेर्ने गर्दछन् ।
रम्मा (झाँक्री), धामी, बैदाङ्गी/जैस्याल/जैसी (नकाम्ने तर झाँक्री र धामीले गर्ने सबै काम गर्ने अनि दिन लगन लगायत साइतहरु जुराउने व्यक्ति अथवा मगर समुदायको पण्डित) र मुथुङ (साधारण व्यक्ति जसले कुनै तन्तर मन्तर गर्दैन)हरुले पनि यो पर्व भव्यसाथ मनाउछन् ।
२. तन्तर मन्तर जाँच्ने :
रम्मा, धामी र बैदाङ्गीहरुले गर्ने गरेका तन्तरमन्तरहरु ठिक छ छैन् भनेर जाँच्ने गर्दछन् । बाह्र भदौको दिन रम्माहरुको छेर्ला (झालामाला), धामीहरुको घण्ट पन्यु र बैदाङ्गीहरुको थाती (मन्तर भएको नेपाली कागजमा निगालोले मसिमा चोबेर लेखिएको र जीवजन्तुहरुको छालाले घाता हालेको पुस्तकं)लाई धुप धुवार गरी पुजेर जाँच गरेमा नलाग्ने तन्तरमन्तरहररू पनि लाग्ने विश्वासले यो कार्य गर्ने गर्दछन् ।
३. जटिबुटी खेर्ने :
रम्मा, धामी र बैदाङ्गीहरुले तन्तर मन्तर मात्र गर्दैनन् । उनीहरुले जटिबुटीले विरामीहरुको उपचार गर्छन् । विशेष गरी बैदाङ्गीहरु त यस क्षेत्रका बैद्यहरु भन्दा पनि फरक नपर्ला किनकि उनीहरुले तन्तर मन्तरले मात्र नभएर जटिबुटीद्धारा पनि विरामीहरुलाई निको पार्ने गर्दछन् ।
बाह्र भदौका दिन खागर (हिमाल), मदेश (तराई) र चारैदिशाबाट जटिबुटी खेर्ने गर्दछन् । नजिक हुने जटिबुटी आफै गएर खन्ने र टाढा टाढा भएका जटिबुटीहरु गुराहा (बाघ वा सिह) बनेर जाने र खन्ने गर्थे भन्ने भनाईहरू अझैसम्म पनि सुन्नमा आउँछन् । भने नसक्नेले पुरानै जटिबुटीहरुलाई उपासेरै धुप धुवार गरी पुजेर राख्ने गर्दछन् ।
जसरी नलाग्ने तन्तर मन्तर बाह्र भदौको दिन जाँचे लाग्छ । त्यसरी नै त्यसै दिन केही दिन अघिदेखि उपासेर (खाना नुन पानि नखाएर) जटिबुटीको जरामा गई चारै दिशा धजा अछेता राखी धुप धुवारेर जिनो भालेको रगत दिई पुजेर खनेको जटिबुटी असाधै लाग्ने गर्दछ विश्वासले यो कार्य गर्ने गर्दछन् ।
४. तिम्बुर तिप्ने :
यो काम मुथुङहरुको काम हो । बाह्र भदौ भन्दा अगाडि तिम्बुर तिप्नु हुँदैन री (मैलो/जोखना) लाग्दैन् र यता उता हिँड्डा पानी लाग्छ भन्ने कुराहरु पनि सुन्नमा आउँछन् । यसै दिनमा बाह्र बोटबाट टिपेको तिम्बुर दसेरा वा दसनमा खरखजनासँगै पुजेमा बिना तन्तर मन्तर दुःख बिमार हुँदा खाएमा निको भइन्छ भन्ने परम्परागत विश्वास पनि छ । र यसै दिन देखि नै तिम्बुर तिप्न फुकुवा हुन्छ पनि ।
५. बाबियो काट्ने :
बाह्र भदौका दिन काटेको बाबियोको कुचोले झारफुक गर्दा लाग्ने र अरु दिनमा काटेको बाबियोको कुचो भन्दा यसै दिने काटेको बाबियोको कुचो खप्ने हुन्छ भने झारफुकमा प्रयोग गर्दा झारफुक लाग्ने र अन्य झाँक्री वा बैदाङ्गीले तान्त्रिक रुपमा गरिने बन्धनहरू पक्का हुने जन विश्वासले यस दिन जसरी भए पनि बाबियो काट्ने गर्दछन् ।
६. बर्खे फलदार वा अन्न खान सुर्वात् :
माग वा फागुनमा पर्ने वसन्त पञ्चमीका दिन वा कुनै राम्रो दिन पारेर हरेक बर्खे बालीको खेवार (कति फल्छ, कस्तो हुन्छ भनेर बिचार गर्न रोपिने कार्य ।) गरिन्छ । र बाह्र भदौ भन्दा अगाडि बुजु बराहा पुज्दा चढाएर खाने गर्दछन् भने त्यसरी बुजु बराहालाई चढाउन नपाएकाहरूले विशेष गरेर बाह्रमा चाख्ने वा खानलाई सुर्वात् गर्ने गर्दछन् तर अहिले यो चलन सबैतिर भने लागू छैन् ।
बाह्र भदौका दिन हुने अन्य जनश्रुतिहरू
बाह्र भदौका दिन माछाहरु जिङ (लेकाली चोँया)को जरा खान आफुहरू बस्ने नदीको मुहान लेकसम्म पुगेर फर्कने अनि लेक चडेका र पाखा निस्केका पाहा र भ्यागुताहरू बाह्र भदौ कै दिनदेखि बेँशी वा तलतिरको नदीनालाहरुमा झर्ने वा बग्ने गर्दछन् भन्ने विश्वास पनि छ । त्यसैले माछा र पाहाहरुलाई पासोमा पार्न डडिया र तुम (डडिया जस्तै चोयालाई बनाएको पासो) थाप्न बाह्र भदौ कै दिनदेखि सुरू गर्ने गर्दछन् ।
माथिका सबै कुरालाई बुदागत रुपमा हेर्दा
१. साधरण मान्छेहरूले अंशपुरुस/आत्मा संकलन गर्न
२. झाँक्री धामी र बैदाङ्गीहरूले आफ्नै तन्त्रमन्त्र जाँच गरी हिमाल देखि मदेशको जटिबुटी जम्मा गर्न र फुङ्फाल वा भोग दिन
३. घरायसी प्रयोजनमा आउने (घाँस चोया दोरीबाट बन्ने) सामग्री संकलन गर्न
४. बर्खामासको फलदार बस्तु र अन्न खान सुर्वात गर्न र
५. बर्खामा पाखा वा लेक चढेका जलचर प्राणी फर्कने र माछा यहिदिनमै लेकालीचोया/ज़िङको जरा खान गएर फर्कने मान्यता र तिनका सिकार आरम्भ गर्न
यिनै कुराहरुको कारणले एक वर्षमा बाह्र भदौ भव्यसाथ मान्ने गरिन्छ । यो अठार मगराँत क्षेत्रको समुदाय र जनजीवनले भोग्दै आएको रहनसहन र संस्कार हो । यस संस्कारले इतिहास र संस्कृतिलाई त्यहाँको जनजीवन यापनसँगै परम्परागत रुपमै भए पनि जीवित पार्दै आइरहेको छ । यो एउटा जीवित इतिहास पनि हो । अठार मगराँत क्षेत्रभित्र कतै यो पर्व नमान्लान् पनि तर झाँक्री प्रथालाई विश्वास गर्ने अन्य समुदायमा यो चलन भने अवश्य नै छ । अन्य क्षेत्र र समुदायको अध्ययन गर्न पाएको छैन् । सायद लाग्छ यो परम्परागत संस्कार अन्य क्षेत्र र समुदायमा हुन र मान्न पनि सक्दछन् ।
यो लेख अलिकति भए पनि अरुलाई जानकार होस् भनेर तयार पारिएको हो । यसको पुरै अध्ययन गर्न बाँकी नै छ । त्यसले तपाईहरुलाई लागेको कुरा र तपाइहरुको समुदायमा भएको बाह्र भदौ विशेष कुराहरु मलाई जानकारी गरेर सहयोग गर्नु होला भन्दै यो छोटो जानकारी लेखलाई यही टुङ्गाउँन चाहान्छु । धन्यवाद !

Honi
ReplyDeleteधन्यवाद !
ReplyDelete