लाहुर मगर जातिमा इहिरी संस्कृतिको दोश्रो संस्करण हो

                                 🖊️बल बहादुर घर्ती मगर

मगर जाति कसरी लडाकु बन्यो र बहादुर जातिको रुपमा संसारभर चिनियो ? यसको पृष्ठभूमिमा मगर जातिको प्राचीन इहिरी संस्कृति निहित छ । इहिरीको शाब्दिक अर्थ सामुहिक शिकार भएपनि यो अझ त्यो भन्दा वृहद छ ।


 

इहिरीसँग जोडिएको एउटा लोक कथा पनि छ । मगरहरुको देउपित्र बाह्रभाई बराहाका आमा इहिरी बनेको । दाङको बाह्रकुने दहमा एक मात्र बहिनी दाईकै धनुकाँडबाट मारिएपछि विरक्तिएका आमा नौबहिनी गुनामेसँगै इहिरी बनेर मध्यरातमा डाँडाकाँडा चाहार्दै कोलो बजाउँदै सन्ध्यामा उड्न थालिन् । राक्सिएका ती इहिरीले मध्यरातमा आगो बालेको देखेपछि त्यहीँ पुग्ने विश्वास थियो । त्यहि भएर डाँडामा घर हुनेहरुले मध्यरातमा घरमा आगो बाल्दैन थिए ।

इहिरी खेल्ने चलन आज पनि  कतै कतै छ तर सांकेतिक रुपमा मात्र । इहिरी खेल्न जानेहरु भौतिक र आध्यात्मिक तयारीका साथ निस्कने गर्दछन् । देउताहरु दाइना पार्न धुप धजा पाटी दिएर जाने गर्दछन् । इहिरी मृगको शिकार मात्र होइन अरिङगाल, भीर माहुरी, चराचुरुङ्गी, पाहा, माछा तथा फलफूल संकलन समेत यसैमा पर्दछन् । यो निकै चुनौतिपूर्ण कार्य हुने र ज्यान समेत जान सक्ने हुँदा एउटा नियममा रहनु पर्ने हुन्छ । इहिरीमा कुकुरको समेत प्रयोग हुने र भूमिका दिने गरिन्छ । इहिरी खेल्दा भीर, रुख चढ्नु पर्ने, हामफाल्नु पर्ने हुनसक्छ । तालमा ताल मिलाएर सामुहिक प्रयासबाट अगुवाको निर्देशनमा शिकार गरिन्छ । नियम उलंघन गरेमा ज्यान समेत जान सक्छ । त्यही भएर यसमा अनुभवी अगुवाहरुको निर्देशन र आदेशमा मात्र सामुहिक रुपमा इहिरीको योजना बनाई सम्पादन गरिन्छ । इहिरी खेलेर मारेको शिकार, पाहा, माछा, अरिङगाल, संकलन भएको मह, फलफूल तथा बस्तुहरु समुदायमा सबै घरकुरेले बराबर भाग लगाएर बाँड्छन् । जसको हातले शिकार मारियो वा पहिले फेला पारियो त्यसलाई सिर्तू दिने चलन छ । सिर्तू भनेको मृगको टाउको हो । आज पनि सिर्तूको संस्कृति मगर जातिमा जीवितै छ । 

प्राचीन मगर समाजमा खेती, पशुपालन र इहिरी मगर अर्थशास्त्रका तीन आयाम थिए । समयक्रममा इहिरी खेल्ने युवाहरु लाहुरे हुन थाले । जंगलहरु साँगुरिन थाल्यो र इहिरी संस्कृति पनि मासिदै गयो । इहिरी संस्कृतिको अवशेष मगर जातिमा आज पनि छ । माघ संक्रान्तिको धनुकाँड खेल, युध्दकलामा आधारित सरङ्ङे नाच, नौबैनी गुनामेको पूजा । 

मगर जाति सोझो होइन इमान्दार र नियममा रहनु पर्छ भन्ने जाति हो । बहादुर होइन योध्दा हो । यो गुण मगर जातिले इहिरी संस्कृतिबाट पाएको हो । यो आज पनि मगरको जीनमा छ । भीर, कन्डरा, जंगल, खोला, डाँडा र पर्वतहरुमा दृश्य अदृश्य शक्तिहरुको सामना गर्दै इहिरीको नियम र ज्ञानमा हुर्केको मगर पूर्वजको रगत बगेको मगर तन्नेरी पल्टनको तालमा ताल मिलाएर परेड खेल्दै रणमैदानमा होमिनु चुनौति होइन अवसर ठान्ने गर्दछ । त्यसैले भन्न सकिन्छ मगर जातिको युवाहरुको लागि लाहुर इहिरीकै अर्को संस्करण हो । इतिहासमा पनि इहिरी मगर जातिको अर्थशास्त्रको तेश्रो आयाम थियो आज पनि लाहुरे मगरको अर्थशास्त्रको तेश्रो आयामकै रुपमा रहेको छ । यो हामीमाझ लुकाएर लुकाउन नसकिने कुरो हो ।

Comments