झाँक्री मेला किन बनाइन्छ पुर्व रुकुमको लुगुममा ?
साउने संक्रान्तिलाई अथार मगरात क्षेत्रमा तिवार/राँखे पर्वको रुपमा भव्य रुपले मान्ने गर्दछन् । यसै अवसर पारेर पुर्वी रुकुमको लुगुम गाउँमा हरेक बर्षको साउन महिनाको पहिलो हप्तामा पर्ने मंगलबार र शनिबारमा जुन बार पहिला पर्छ त्यसै बारमा सबै थरका झाँक्रीहरू मिलेर ज्या: पलेन्ये रम्मा राम (भून निकाल्ने झाँक्री उत्सव) बनाउने/मान्ने गर्दछन् । जम्मा भएका झाँक्रीहरूले एक अर्काको ग्रहदशा फार्ने, हेराहेर गर्ने गर्दछन् भने गाउँका युवायुवती राम्चेहरू र झाँक्रीका चुन्मी वा भान्जहरूका बिचमा एकअर्कालाई सिस्नो हानाहान गरेर अति रमाइलो गर्ने गर्दछन् । सिस्नो हान्नु भनेको शरीरमा रहेका अदृश्य भूतप्रेतलाई धपाउनु हो त्यसैले कोही कसैलाई हानियो भने पनि रिसाउने गरिदैन् । अर्को दिन झाँक्री चुन्मी वा भान्जहरूले झाँक्री झालामाला लगाएर गाउँ भरि डुल्दै रमाइलो गर्ने गर्दछन् भने अन्य युवायुवतीहरूले हिलो छेपाछेप गरेर हिला राम/मेला बनाउने गर्दछन् । झाँक्री मेला बनाउनुको कारण एउटा कथन छ । पहिला लुगुम गाउँमा बोक्सीहरूले अति सताउँदा भैरम झाँक्रीको उत्पत्ति हुन्छ र त्यसै भैरम झाँक्रीले आफ्नो अलङ्कारिक बस्त्रका साथ ढ्याङ्ग्रो बजाउँदै नाच्दै र तन्त्रमन्त्रले नचाईनचाई तिनै बोक्सीहरूलाई सदाको लागि जमिन मुनि धसिदिएर ठूलो ढुङ्गाले चापिदिन्छ र आफू पनि सदाको लागि अल्पिन्छ । त्यही दिनको उपलक्ष्यमा त्यही बोक्सीहरूलाई गाडेकै ठाउँमा हेरक बर्ष झाँक्री मेलाको आयोजना गर्ने गरिन्छ ।
Comments
Post a Comment