लोपोन्मुख सालम्बो गीत र ताँजवाजुली नाच/खेल

       


                                      ✍️लक्ष्यमण घर्ती मगर


        मगर समुदाय आफैभित्र ठूलो विविधता रहेको समुदाय हो । नेपाल भरीमा बसोबास रहेको मगरहरुलाई हेर्यौँ भने केही प्रमूख पहिचानहरू मिल्ने भए पनि सारत: फरक फरक संस्कार र चलन देख्न सक्छौँ । अझ साधारण रितिरिवाजहरू त गाउँपिछे फरक फरक भेटिन्छन् ।

        रुकुम पुर्व जिल्लाको मैकोट, हुकाम, रन्मा जस्ता गाउँहरुमा पुर्खादेखि नै साउँनेसगराँत पर्वमा यसरी 'ताँबाजुली' खेलेर रम्ने रिति रहेको छ । १० बर्षे जनुयुद्धताका समय प्रतिकुल भएर यो हराएको थियो । तर, अहिले रन्मा र मैकोटमा करिब हराएको हराएई जस्तो भइसक्यो भने हुकाम गाउँमा अँझै यसको संरक्षण गर्दै निरन्तरता दिँदै आएका छन् । यो अत्यन्त राम्रो पक्ष हो ।

        नौजवान देखि अधवैँशे वयस्कसम्मका मानिसहरू जो दगुर्न सक्दछन् ति जो कोही पनि यस खेलमा सामेल हुन सक्छन् । झन् जवान जवानीहरू त सकभर मन परेको मान्छेसँग जोडिएर रम्न रुचाउँछन् किनकि अरू बेला टाँसिएर हात समाएर डुल्दा खिसिट्युरी गर्ने समाजले यो बेला मज्जाले हात समाएर उफ्रिने दगुर्ने गरे पनि अनौठो मान्दैन्, कुरो काट्दैन् । अझ उहिले त यस मानव साङ्लोमा पुरुष महिला, पुरुष महिला गरेर खेल्ने चलन थियो भनिन्छ । ताकि लड्दा पनि पुरुषले सँगै हात समाएकी महिलालाई ढल्नबाट कन्ट्रोल गर्न सकोस् । तर यस भिडीयोमा भने महिलाको मात्रै ताँती देखिन्छ ।

        सबै जनाले एकअर्काको हात समाएर तयार भएपछि एकजना पाको र सिपालु मान्छेले सालम्बो भाकामा मिठास शब्दहरू मार्फत सम्बोधन गर्दै गीत गाउँछन् र सँगसँगै अन्य सहभागीहरुले पनि उक्त भाकामा स्वर मिलाउँछन् । चार टुक्काको सालम्बो टुङ्गेपश्चात फन्फन्ती घुम्दै दौड्दै उमङ्गका आवाज सहित तल मैदानतिर लम्कन्छन् । स्वभाविकले कोही ढल्छन्, लड्छन् । अझ लुंगी लगाउँने भएकै कारण अक्सर महिलाहरु नै ढल्छन् । तल पुगेपछि फेरि माथि फर्किन्छन् र त्यही प्रक्रिया दोहोरीरहन्छ ।

video credit : Salina Magarnii
साउँनेसगराँत पर्व, ताँबाजुली खेल ।
हुकाम, रुकुम पुर्व ।

Comments