के मगर संस्कारमा मृत्युु पश्चात् जलाइँदैन, गाडिन्छ !?।

के मगर संस्कारमा मृत्यु पश्चात् जलाइँदैन, गाडिन्छ !?।


                                                        ✍️बीजी मगर

     मगर संस्कारमा मृत्यु पश्चात् जलाइदैन, गाडिन्छ भनेर केही मगर संस्कार विज्ञ मित्रहरूले फेसबुकतिर पोष्ट गरिरहेको देखिरहेको छु । तर उहाँहरूले मगर संस्कारको राम्ररी अध्ययन नगरेर हिन्दु धर्मको प्रभावले अहिले जलाइने गरिएको आरोपको म खुलेरै बिरोध र खण्डन गर्दछु । किनकि अठार मगरात क्षेत्रको मगर समुदायमा झाँक्री बाहेक अरूलाई जलाइने पनि गरिन्छ । 

     पश्चिम रोल्पा, रुकुम, बाग्लुङ, जाजरकोट  लगायतका अठार मगरात क्षेत्रमा मगर संस्कार झाँक्री विधि विदान र धुर (शास्त्र) अनुसार चल्ने गरिएको कुरा सबैलाई सर्वविदै नै छ । झाँक्री कथ्यमा एउटा "सिरुङ धुर" छ । आँधी हुरी झरी असिनासँगै चिर्को बजाङ्गो (चट्याङ)सँगै धुपी सल्ला जिला चेमालीको भएको सिलीखागर (हिमाल)बाट गोरह र सेपारुङ दुई भाइको उत्पति हुन्छ (सबै कुरा मेरो प्रकाशउन्मुख पुस्तक रम्मा यमल मङ्गर संस्कार-झाँक्रीवादमा मगर संस्कार) नामक पुस्तकमा बिस्तृत छ । यो सारंश मात्रै हो ।) दाजु गोरह अथवा गोरोपा इमानदार अरुलाई छलछाम नगर्ने आचरणको हुन्छ भने भाइ सेपारुङ अथवा सेरोपा बदमाश, मूर्ख र अरुलाई दु:ख दिने प्रवृत्तिको हुन्छ । दाजु गोरहलाई जहिले पनि केही न केही निउ निकालेर कष्ट मात्रै दिइरहन्छ । भीरबाट हाम्फाल्ने, नदी तर्ने, ढुङ्गा हान्ने, हावामा उढ्ने, इहिरी (सिकार) खेल्ने लगायतका अनाहकमा ज्यानलाई नै जोखिम हुने सबै सबै कार्यहरूमा बाजि थापेर गर्नुसम्मको गर्छ । तर प्रकृतिका सबै किरा फटयांग्रा पशुपंन्छी लगायत भूमिले नै गोरहलाई साथ दिइरहेका हुन्छन् र बाजि जित्दै जान्छ तर पनि सेपारुङले जहिले पनि दु:ख दिन जहिले जहाँ जुनसुकै अवस्थामा यस्तो अखत्थ्यो थापिरहन्छ र गोरहले त्यसको सामना गरिरहनुपर्छ । यस्तो गर्दा गर्दै दाजु गोरहको एउटा आँखा फुट्छ र ऊ काना गोरह हुन्छ । यस्तै क्रममा जमिन मुक्का हानेर प्वाल पार्ने बाजि थाप्छन् तर गोरहलाई साथ दिने बुकि बस्ने हुने पुच्छर नभएको लेन्दी मुसाले साथ दिइरहेको हुन्छ यानकि गोरहको साथी हुन्छ । त्यस बाजीमा मुसाले जमिन मुनि दुलो बनाउँदै हिड्छ त्यस त्यसमा काना गोरहले मुक्का हान्दै जान्छ र जमिन प्वाल पर्दै जान्छ तर दुस्त सेपारुङले जहाँ तहीँ मुक्का हान्छ प्वाल पर्दैन र उल्टै उसको हात भाँचिन्छ थुते हुन्छ र ऊ थुते सेपारुङ हुन्छ ।

      यसरी सबै बाजि थाप्दा पनि आफ्नै हार भइसकेको थुते सेपारुङले यो जमिन सहित अंश बाड्ने कुरा निकाल्छ । उँभेली र उँदली मास लाग्दा अंश बाँडफाँड गर्ने कुरा गर्छ । तर गोरहले उँभेली र उँभेली मासमा मानव लगायत पशुप्राणीले गर्ने सम्पूर्ण गतिविधि निकालेर अंश बाड्न नमिल्ने कुरा गर्छ । त्यसपछि नयाँ सालको सुर्वात माघ महिना देखि वर्षको अन्तिम महिना पुससम्मका हरेक महिनामा बाँडफाँड गर्ने कुरा निकाल्छ । त्यसमा गोरहले पनि मन्जुत्याई वा मानवाहरूले विभिन्न कार्य गर्ने गरेको कुरा निकालेर अंश छुट्याउन पनि मान्दैन (हरेकमा गरिने सबै काम यहाँ लेख्न लामो हुने भएकोले लेख्न असमर्थ छु ।) त्यसपछि अौँसी पुन्नि (पुर्णिमा) मासमा बाड्ने कुरा निकाल्छ । त्यसमा पनि मुथुङ मन्जुत्याई (साधरण मानव)ले गोरू जोट्न बार्ने, पितृ लगायत रम्मा (झाँक्री)ले आफ्नो देउता, झालामाला ध्याङ्ग्रो र बैदाङ्गी (ज‌ैसी पनि भनिन्छ) आफ्नो थाती पोस्तोको र धामीले आफ्नो देउता लगायत बोङ्कर, पन्यु, नङ्ग्रा लगायतका सामाग्रीलाई धुप ध्वाँरका साथ पुजेर बार्ने भएकोले अंश बाँडफाँड गर्न नसकिने कुरा गरेर तार्छ । त्यसपछि बारहरुमा अंश बाँड्ने कुरा निकाल्छ । त्यसमा पनि हरेक हप्ता बारमा मन्जुत्याईले विभिन्न कार्य गर्ने गरेको कुराले तार्छ । ( हप्तामा गरिने कार्य पनि लामो भएकोले लेख्न असमर्थ छु ।) 

        सबै मास महिना दिन बारमा पनि अंश बाड्न नसकिने कुरा भएपछि न्याय खोज्न थुते सेपारुङ सबै जिवजन्तु चराचुरुङ्गीहरूमा जान्छ । तर गोरहलाई साथ दिने सबै सबै जिवजन्तु चराचुरुङ्गीले विभिन्न बाहना निकालेर सेपारुङ देखि टाढिन्छन् । उसले पनि सबैलाई यो गर्छु उ गर्छु भन्दै सराप दिँदै जान्छ । 

     अन्तमा अंश बाँड्ने न‌ै हुन्छ । अंश बाँड्दा जमिनमा जान्छन् । जमिन बाँड्दा गोरहले गाँसलाई मुठो पार्दै र सुकेको काठहरूक‍ो सीमा साँध राख्दै जान्छ तर सेपारुङले ठूलाठूला ढुङ्गाहरू, खागर (हिमाल) पहाड, र खोला नालालाई साँध सीमा तोक्दै बनाउँदै हिड्छ । र अन्तत: दुबैको अंशबन्दा हुन्छ । उँभेली मास लाग्छ । भेडा गोठालाहरूले बनमा आगो लगाउछन् । सबै बन धडेलोले खान्छ । काना गोरहले लगाएको गासको मुठो, सुकेका काठको साँध सीमा सबै आगोले भस्म पार्छ । थुते सेपारुङले तोकेको ठूलाठूला ढुङ्गा, सिलीखागर, पहाड र खोला नाला केही हुँदैन । त्यही काना गोरहले राखेको सीमा साँध केही नरहेको र नभएको निउ निकालेर थुते सेपारुङले सबै जमिन हदप्छ । गोरह केही नभएको हुन्छ । त्यही सोकले गोरहको मृत्युु हुन्छ । 

       त्यसपछि मृत्यु संस्कारमा लाग्छन् । मृत्युु संस्कार इष्ट भान्जहरूले चारै दिशा गएर टीला बैठक जुङ्ली धजा लिस् लगेर चारै दिशाबाट चन्दन, मलेगिर, लाङ्खुरी र पाङ्खुरीको मुनाङ (टुप्पोमा हाँगो भएको रुख) लिएर नौतले सागर/सल: (चिहान) बनाउछन् र जलाएर काना गोरहको अन्तिम दाह संस्कार गर्छन् ।

      पछि त्यही जमिनको लागि काना गोरहको छोराहरू र सेपारुङ छोराहरूको बिचमा कलह र लडाइँ हुन्छ । अन्तत: गोरहका छोराहरूसँग सेपारुङका छोराहरू हार्दछन् तर गोरहका छोराहरूसँग बाचा गरेर सम्पूर्ण जमिन नै सुम्पन्छन् । उनीहरू बनतिर मन्जुत्याईहरूले देख्न नसक्ने गरेर अलप हुन जान्छन् । पानी पँधेरीमा सिमे र फुन्चाल (देउराली) भएर जान्छन् । भीर पहारीमा पाखा पखेरीमा ह्यो र भुमे हुँदै जान्छन् । सिमेहरू ओधो वा वायु सबै उमेरकालाई, सिरुङ हुँदै बालबच्चालाई, फुन्चाल हुँदै आला घाउहरूमा पसेर मन्जुत्याईलाई कस्त दिने र त्यही अनुसार बाचा मुरी अक्षेता, दुरी धजा, नौरेखि नौबाटी र धुप ध्वारले पुजेर बाचा पूरा गर्ने बाचा गर्दछन् । त्यही बाचा अनुसार मन्जुत्याईले नै सिमे भुमे पुज्दै आए ।

        यसरी मन्जुत्याईले सिमेभुमेहरूलाई निरन्तर पुज्दै आयो । यसै सिरुङ धुर अनुसार महिना मास महिना दिन बार अनुसार आफ्नो क्रियाकलाप संचालन गर्ने र मृत्युु संस्कार अनुसार आफ्नो मृत्यु संस्कारको कर्मकाण्ड चलाएर आए । अठार मगरात क्षेत्रका मगर समुदायमा यस शास्त्र बाहेक रम्मा/झाँक्रीका अन्य धुर/शास्त्रहरू गोनामेनी धुर, साता धुर, राहह्यो धुर, उत्पत्ति धुर लगायतका  पछ्याउँदै जीवन गतिविधि चलाइरहेका हुन्छन् ।



नोट : यो जानकारीको सार मात्रै हो ।


सन्दर्भ सामग्री :

बोमबहादुर सुतपहरे घर्तीमगरको प्रकाशोन्मुख साँस्कृतिक पुस्तक र आलेखहरू

• झाँक्रीवादमा मगर संस्कार र दर्शन

• अठार मगरातको एक वर्षे संस्कृति झलकहरू 

• जन्म अघिदेखि मृत्युपछि सम्मको अठार मगरातको मगर संस्कार अध्ययन तथा विश्लेषण 

• अठार मगरातका लोकगीत र लोकनृत्यहरूको अध्ययन तथा विश्लेषण 

• लोक बाजाहरूको उत्पत्ति र बिकास

• झाँक्री, धामी र बैदाङ्गीका लोकउपचार विधिको अध्ययन तथा विश्लेषण 

क्रमशः 

Comments

Post a Comment