सुनछहरी : कसरी भयो ?

 मेरो बस्तीबाट धरहरा देखिदैन

धरहराबाट मेरो टहरा देखिदैन ।

खुबै देखिएला हिमालको चुचुरोसम्म

सुन झार्ने मेरो सुनछहरा देखिदैन ।



सुनछहरा ?

रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका स्थित साबिक सिउरी (मरेको पानी) गा.बि.स.मा सुनछहरा (सुन झरना, स्थानीय मगर खाम भाषामा ।) छ । भने वर्तमान गाउँपालिकाको नाम पनि यसै झरनाको नामबाट नामाङ्कण गरिएको छ । पछिल्लो समय सुनछहरालाई परिवर्तन गरेर सुनछहरीमा पनि झरना थपेर भन्ने वा लेख्ने गरिएको पाइएको छ अथवा एउटै अर्थ लाग्ने छहरालाई स्त्रीलिङ्गमा रुपान्तरण गर्नुका साथै झरना पनि थप्दै लेख्ने र भन्ने गरेको पाइन्छ ।


किन राखियो सुनछहरा ?

सुनछहराको उत्पति सम्बन्धमा एउटा दन्त्यकथा पनि छ । उहिल्यै एक स्थानीय गोठालो जंगलमा गाई चराईरहेको बेला असाधारण गाईका बगाल उसकै छेउ हुँदै गए । तिनीहरूलाई एक एक गरेर छुँदा सुन,चाँदी, काँसा, तामा, पितल लगायतका बहुमुल्य भाँडाकुँडा हुँदै उसको छेउमा थुपरिए । तिनी भाडाकुडाहरू जम्मा गरेर घर लगेपछि त्यो गोठालो एकाएक नामुद साहु भयो । अति धेरै सम्पत्ति भए, सुन सबैभन्दा धेरै थियो रे तर पनि त्यस साहुको सम्पत्ति खाने सन्तान कोही बएनछ । त्यसैले कुनै पनि उसको आउने जन्ममा त्यो सुन आफै नै पाउने गरे गदन्थधनको रुपमा भाकल गरेर त्यसै पानिको छहरा भएको पहरामा गाड्न गएछ । गाडेर फर्कदा त्यो साहु त्यही पल्टेर मर्यो र त्यसको आत्मा त्यही सुनको चौकीदार गरेर बस्ने भयो । पछिल्लो समयमा सुन छ भनेर निकाल्न खोज्नेहरूको बिनाकारण नाकमुखबाट रगत निस्केर मर्न लागे भन्ने गरिन्छ ।  कसैले पनि सुन निकाल्न सकेनन् । बिदेशी नागरिकहरूले पनि कति प्रयास गरेका हुन रे तर कसैले पनि सकेनन् रे । त्यसैले यस झरनाको नाम सुनछहरा भएको हो र अहिले सुनछहरी झरना भनिदै लेखिदै आइरहेको छ/छन् ।


वर्षादको समयमा भने ठूलो भेलवादी आउँदा झरनासँगै खस्ने ढुङ्गाहरूले सुनहरू टुक्राउँदै खसाल्ने भएकाले त्यही सुनछहरा खस्ने लुङरीको नदीमा बालुवा चालेर सुन खोज्दा सुन थाले पाउने तर एकदिनमा धेरै सुन पाए पनि सुन भेटाउनेलाई अनावश्यक बिनाकारण घरमा कुनै न कुनै क्षती हुने विश्वास छ । जनयुद्धको समयमा सुनछहरी नजिक गाउँ माबाङ (हराएको चौर)का एक व्यक्तिले एकतोला भन्दा बढी सुन भेटाएकै दिनको रातमा बिनाकारण उसको चालीसभन्दा बढी भेडा बाख्राहरू मरेका थियो भन्ने हल्ला पनि सुनिएक‍ो थियो । यो कतिको सत्य हो त्यहाँका स्थानीयहरूलाई नै थाहा होला ! सुन सुनछहरा झर्ने लुङरीमा मात्रै नभएर रोल्पाकै पनि सुनछहरी गाउँपालिकाको फगाम खोलामा पाइन्छ भने यसै गाउँपािलकाकै तिलाचन पहाडमा पनि सुनखानी नै रहेको छ । तर, त्यस सुनलाई पनि ठूलो नागले घेराउ गरेर राखेकोले त्यस सुनलाई पनि निकाल्न नसकिने स्थानीय बुढापाकाहरूको भनाइ छ । साथै यसै वरपरका पहाडहरूमा हिरा, सिसा, तामा, फलाम लगायतका धातुहरूको पनि खानी रहेको जानकारी छ ।


रोल्पा जिल्ला नेपालको एक पहाडी जिल्ला हो । यो साविकको राप्ती अञ्चल र हालको लुम्बिनी प्रदेश मा अवस्थित छ । कुल क्षेत्रफल १ हजार ८ सय ७९ बर्ग कि.मी रहेको रोल्पामा अहिले १ नगरपालिका र ९ गाउँपालिका रहेकाछन् । भने जिल्लाको पूर्वमा बाग्लुङ र प्यूठान, पश्चिममा सल्यान, उत्तरमा रुकुम पुर्व र दक्षिणमा दाङ जिल्ला पर्दछ । रोल्पा जिल्ला पर्यटनको लागि एउटा राम्रो सम्भावना बोकेको उत्कृष्ट ठाउँ पनि हो । १० वर्षे जनयुद्वको उद्गम थलो पनि हो । भने त्यस समयमा नेपालको सबैभन्दा धेरै मान्छे मर्ने (७४ जना) गा.बि.स. जेलबाङ पनि सुनछहरी गाउँपालिकामै पर्दछ । जेलबाङ तामा र फलाम खानीले निकै प्रख्यात ठाउँ पनि हो तर यी खानीहरू अहिले पुर्णरुपमा बन्द छन् । रोल्पा नेपालकै मगर जातिको बाहुल्यताको हिसाबले पाल्पा जिल्ला पछिको दोस्रो जिल्ला पनि हो । यहाँका मगरहरूको आफ्नै मातृभाषा (मगर खाम), संस्कृति, रहनसहन, परम्परा र संस्कार रहेको छ ।


स्टाट्स लेख्दा लेख्दै बनेको थोरै जानकारी मात्रै सम्झिनु होला पुरै जानकारी दिन लामै आलेख बन्दछ ।


    ✍️बिजी मगर

Comments