अठार मगरातमा कुलपित्र र देउपित्र लगायतका पित्रहरू पुज्ने गरिन्छ

 अठार मगरातमा कुलपित्र र देउपित्र लगायतका पित्रहरू पुज्ने गरिन्छ : 


कुलपित्र :

    सम्बन्धित गोत्र वा कुलका मृतक पुर्खाहरूलाई कुलपित्र भनिन्छ । मान्छे मरेपछि पित्रीलोक/धा:वाँ वा स्वर्गमा बास बस्ने गर्छन् भन्ने विश्वास छ । तिनै मृतक सम्पूर्ण पुस्ताहरूको नाममा शिलालेख लेखेर निश्चित ठाउँमा नाइँ/बिसौना वा चिनो चौपारी बनाएर हरेक वर्षमा गोत्र र ठाउँ अनुसार दवारा(तिहार), मंसिरे पुन्नी, माघ संकरान्ती, जेठ पुन्नी र अन्य समयमा पुज्ने गरिन्छ । कुलपित्र प्राय जसो कुखुराबाट गर्ने गरिन्छ भने कतै कतै कुलगोत्र अनुसार राँगा, भेडा, बोकाबाट गर्ने गरिन्छ भने रोल्पाको ह्वामामा एकथरी मगरहरूले सुंगुरबाट कुलपित्र पुज्ने गर्दछन् ।

देउपित्र :

झाँक्री, धामी वा अन्य देउताको चडेका मान्छे वा पुरुसेलो मान्छे (साधरण व्यक्ति जो झाँक्री, धामी र देउता/देउतेनी केही पनि होइन तर काम्ने गर्दछन् ।)ले आफ्नो शरीरमा चढ्ने गरेका शक्तिपिठ देउताहरू देउपित्र भनिन्छ । त्यस्ता देउपित्रहरूमा बाह्रभाइ ब्राहा, बाइसबहिनी बुजु, सिद्ध, मस्टा, झाँक्री देउता, धामी देउता इत्यादि हुन भने निश्चित ठाउँमा तिनीहरूको नाममा थानहरू बनाएर औंशी वा पुर्णिामाको तिथि पारेर कम्तीमा दुई वर्षमा सेतो भेडा वा कालो बोकाले देउपित्र पुज्ने गरिन्छ । 

अन्य पित्रहरू :

गोठालोपित्र :

गाई, भैसीँ, भेडा बाख्रा लगायतका घर पालुवा जनावरहरूको गोठालाको रुपमा रहने पित्र जसलाई उँदेली मासमा मंसिर पुस र उँभेली मासमा जेठ असारको कुनै राम्रो दिनको साइत पारेर कुखुराबाट पुज्ने गरिन्छ । गाई बस्तुहरूको शरीरमा घाउखतिरा हुने, बिनाकारण बिरामी हुने र चोटपटक लाग्ने कारण यसै पित्र चोर्दो हुँदा हुने गर्दछ भन्ने विश्वास र सम्पूर्ण गोठको रक्षा यसै गोठालोपित्रले गर्ने कारण नै यस पित्रलाई पुज्ने गरिन्छ ।

सेसीपित्र :

सेसीपित्र गोठालो तथा झाँक्री कर्मका पित्रको रुपमा पुज्ने गरपन्छ । यसलाई पनि कुखुराको भालेबाटै छुट्टै खानकी (गहुँको पीठोलाई झाँक्रीका सम्पूर्ण सामग्री र मान्छेले भोग्दै गरेका सम्पूर्ण हातहतियारहरूको बनाएको स्वरुप जसलाई पुजा पछि प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ ।) बनाएर पुज्ने गरिन्छ । कुलपित्र, गोठालोपित्र पुज्दा र चैते अस्तमीमा अलगै थान बनाएर पुज्ने गरिन्छ । दाँत दुख्ने, खप्पर दुख्ने दोख सेसीपित्र चोर्दो वा रिसाएको अवस्थामा हुन्छ भन्ने विश्वास छ । धन्यवाद !

✍️वीजी मगर                                                   तस्बिर : भोजविक्रम बुढामगर

पूर्व अध्यक्ष : नेपाल मगर विद्यार्थी संघ, केन्द्रीय समिति

Comments