भदौ महिनामा नाँचिने भएकोले हिन्दु नारीहरूको पर्व तिज पर्वसँग एकै समयमा हुने भएको हुनाले ह्याम्पई भाकाहरू तिजको समयमा पनि गाइयो र तिनै ह्याम्पई गीतहरू तिज गीतको रुपमा विकसित भएर चर्चा परिचर्चामा पनि गए तर ह्याप्पई गीतहरू अहिले लोभ भइसकेका छन् ।
✍️बीजी मगर
कुनै महिनामा मात्रै वा सम्बन्धित महिनामा पर्ने चाडपर्वहरूको अवसरहरूमा मात्रै गाइने लोकगीतहरूलाई मासे गीतहरू भनिन्छ । जुन गीतहरूलाई ऋतुकालिन लोकगीतहरू पनि भन्ने गरिन्छ । यस्ता लोकगीतहरू सामुहिक र एकलमा गाउने गरिन्छन् । अथार मगरात क्षेत्रमा गाइने मासे गीतहरू यस प्रकार रहेका छन् ।
माघ संक्रान्ति वा माघे पर्वमा गाइने गीत : स्याम्भो
माघ संक्रान्तिका चेलीबेटीहरू पुजेपछि दिउसोको समयमा चेलीबेटीहरू मस्यान्द्रा, दाजुभाइहरू तारा हान्न जान्छन् र साँझको समयमा बुढापाकाहरू जम्मा भएर प्रत्येक घर घर गई स्याम्भो गाउन लाग्छन् । स्याम्भो एककिसिमको बिरहमा गाइने गीत हो । जुन गीतमा दु:ख, पीर र माइती चेली बिचका सम्बादहरूमा आआफ्ना भावनाहरू पोखेर गाउने गरिन्छ । बास्तवमा स्याम्भो भनेको मगर खाम भाषामा नाच्छम् है भनेको हो । सायद नाच्छम् है भनेर गाउँदा गाउँदै यस गीतको नाम स्याम्भो रहेको होला ! यो गीतको भाका अथवा बोट फरक किसिमको भए पनि गीतको गेडा वा तुक्का झ्याउरे छन्दमा नै गाउने गरिन्छ ।
फागुन महिनामा महिलाहरूले मात्रै गाउने गीत : जोमारे
फागुन महिनामा महिलाहरू मात्रै जम्मा भएर नाटकिय रुपमा नाँच्दै गाइने गीतलाई जोमारे भनिन्छ । जोमारे भनेको जे अथवा पिँडालु मारे खन्नु वा दाल्नुलाई भनिन्छ । अर्थात् पिडालु मारेर उत्सवको रुपमा यो नाँच फागुन महिना भरिनै प्रत्येक घर गई गाउने र नाँच्ने गरिन्छ । खागर (हिमाल)का रङ(डाँफे) र मदेस (तराई)का मोन्जर (मयुर)को संयोगान्त पछिको वियोगान्त प्रेमकथामा आधारित यस गीतमा दुई जोडी महिलाहरूले डाँफे र मयुरको भूमिका निभाएर नाँच्ने भएकोले यो नाँचलाई जोरास्याई वा जोडीनाँच पनि भनिन्छ । यस गीतको लय फरक भए पनि तुक्का संरचना भने झ्याउरे छन्दमै हुन्छ ।
असार संक्रान्ति वा भुमे पर्वमा गाइने गीत : वैगीत र न्याहो
असार संक्रान्तिमा भुमे वा जमिनको पुजा गर्ने गरिन्छ । भुमे पुज्न चाहिने फूलहरू तिप्न गाउँका युवा युवतीहरू नजिकको उच्च ठाउँ (भूकी वा गोङ)मा गई उपासना बसेर तिपेर ल्याउछन् । जुन फूलहरू तिप्ने बेला र तिपेर गाउँ फर्कदा गाउँबाट गाजाबाजा सहित लिन गएका अन्य गाउँलेहरूसँग भेट हुँदा गोङमा हुने सबै प्रकारका फूलहरूको नाम निकालेर एक किसिमको लयमा गाउने गरिन्छ । त्यस गीतलाई व/वो/वै वा फूल गीत भन्ने गरिन्छ ।
त्यस्तै भुमे पुज्नु अगावै वा बिहानै फूल तिप्नेहरू बसेको बासस्थानबाट गाउँको नजिकै एक तोकिएको ठाउँमा जम्मा भई एकैसाथ मन पर्ने तरुन तन्नेरी वा प्रेमी प्रेमिका र ठट्यौली साइनो पर्नेहरूको बिचमा एक अर्काको हात समाएर डौडेर पुजास्थानमा पुग्ने गरिन्छ । यो डौडमा जसको बारीमा डौडेर जतिसुकै अन्नबाली नास गरे पनि गालीगलोज गर्न पाइँदैन । यो एउटा प्रेमी जोडी वा ठट्यौली जोडी बिचको प्रतिस्पर्धा पनि हो । त्यो डौडने ठाउँमा बासस्थान देखि पुग्ने बेला र भूमे सेलाउने बेलामा बिदाबारी स्वरुप एक किसिमको रहनी वा लयमा गाइने गीतलाई न्याहो भन्ने गरिन्छ । न्याहो एकजनाले बताउने र सबै जनाले एकसाथ न्याहो भनेर गाउने भएकैले नै यो गीतलाई न्याहो भन्ने गरिन्छ । भुमेमा प्रेमी प्रेमिका वा ठट्यौली साइनो पर्ने बिचको डौड प्रतिस्पर्धा पछिको रमाइलो पक्ष वा क्षण न्याहो गाउने पनि हो ।
साउने संक्रान्ति वा तिवार पर्वमा गाइने गीत : ओखा
असार संक्रान्तिमा भु जमीन र पानीको पुजा गरेर साउने संक्रान्तिमा मे (आगो) पुजा गर्दै भुमे पुजालाई पूर्ण रुपमा सम्पन्न गरिन्छ । भने माघ संक्रान्तिबाट (ठाउँ अनुसार जेठ संक्रान्ति र असार मसान्तसम्म वा उभेली मासलाई ।) बन्द गरिएको गाजाबाजा उदेली मास वा साउन संक्रान्ति देखि पुस मसान्तसम्मका लागि फुकाउन रम्मा/झाँक्रीहरू वा मुथुङ (साधरण मान्छे)हरूबाट ओखला पुजा गर्ने गरिन्छ । त्यही ओखला पुजा गर्दा गाइने तान्त्रिक गीतलाई ओखा भाका वा गीत भन्ने गरिन्छ ।
भदौ महिना गाइने गीत : ह्याम्पई
भदौ महिनामा मकै बाँचेर साँझको समयमा मकै खोसाल्दा अथवा कुनै एकघरमा जम्मा भएर महिलाहरूले मात्रै मिलेर सामुहिक रुपमा गाएर नाँचिने नाँचलाई ह्याम्पई भनिन्छ । ह्याम्पई महिलाहरूले धोको वा कुनै मान्छे अताउने बस्तु राखेर बयाउने वा बोकेचाको स्वरुप दिन्छन् र त्यसभित्र पसेर अन्नेरी थापेर नाँच्ने गर्दछन् । ह्याम्पई जति अन्नेरी गर्ने महिला छ त्यति नै रमाइलो पनि हुन्छ ।
भदौ महिनामा नाँचिने भएकोले हिन्दु नारीहरूको पर्व तिज पर्वसँग एकै समयमा हुने भएको हुनाले ह्याम्पई भाकाहरू तिजको समयमा पनि गाइयो र तिनै ह्याम्पई गीतहरू तिज गीतको रुपमा विकसित भएर चर्चा परिचर्चामा पनि गए तर ह्याप्पई गीतहरू अहिले लोभ भइसकेका छन् । एउटा कुरा थोकेर भन्नु पर्दा आययित सांस्कृतिक पर्व र संस्कारहरूले गर्दा आन्तरिक पर्व वा संस्कारहरूलाई कतै ओजेलमा पारेका त होइनन् ? किनकि यो ह्याम्पई गीतका भाकाहरू र म्याग्दीतिर नाँचिने थाली नाँचका भाकाहरू त तिजको समयमा गाइने तिज गीतहरूसँग मिल्नछन् त ? ह्याम्पई र थालीनाँचका गीतहरू तिज भाकाहरूबाट आएको त कति पनि होइनन् होला !।
असोजे दसन/दशैँ पर्वमा गाइने गीत : झुम्जिते
असोज महिनामा पर्ने दसन वा पछि हिन्दुहरूबाट परिवर्तित दशैँमा झुम्जिते (काम्दै नाक र मुखबाट रगत फालेर मर्नेमा विशेष हात रहने अदृश्य राकस आत्मा)लाई जगाइ घरायसी प्रयोजनमा आउने सामग्री, रम्मा/झाँक्रीहरूको सामग्री र बैदाङ्गी/जैस्यालहरूको थातिपोस्तोको (मन्त्रहरू भएको पुस्तक)लाई फुङफाल दिने वा पुज्ने गरिन्छ र पुजेपछि पुन: झुम्झितेलाई मार्ने गरिन्छ । त्यही प्रक्रियामा गाइने तान्त्रिक गीतलाई झुम्जिते जगाउने र मार्ने भनिन्छ भने सबै गीतलाई झुम्जिते भनिन्छ । यहि बेला तीन जना कन्या केटाहरूलाई सिस्नो, कुरा, काँडा, लगायतका मान्छेलाई हान्दा असर गर्ने बस्तुहरूको पहिरन गरेर वा भिरेर मोसो दलेर अन्नेरी गर्दै जसलाई पायो उसलाई हान्दै प्रत्येक घर घरमा गएर झुम्जिते जाग्यो भन्दै हिड्छन् र अन्य मान्छेहरू झुम्जिते मार्ने भनेर जाडरक्सी लगायत दान दक्षिणा मागेर हिड्छन् । एक ठाउँ वा झुम्जिते मार्ने ठाउँमा गएर सबै दान संकलन गरि झुम्जिते मार्ने पनि गरिन्छ । साथै साउने संक्रान्तिमा नफुकाइएका नाँचहरूलाई पनि फुकाइन्छ ।
कात्तिक महिना वा दवारा पर्वमा गाइने गीतहरू :
कार्तिक महिनामा पर्ने दवारा जुन तिहारको गोरू पुजाको दिनबाट सुरु हुन्छ । तिहारसँग मिसिएकोले नै दवारा हराइयो र तिहारको रुपमा नै हेर्ने गरिएको छ । त्यसै दवाराबाट विभिन्न गाउँ ठाउँका नाँचहरू अन्य ठाउँतिर पुस मसान्तसम्मलाई नाँच्न जाने गरिन्छ । जसलाई देस पसिन्ये पनि भनिन्छ । त्यस नाँचहरूमा ठाउँ अनुसार फरक फरक वा एकै किसिमका पनि हुन्छन् । जस्तै सिङ्गारू, मारूनी, सोरठी, पैस्यारू, छुरेपैस्यारू, दंगीनाँच, गरुवा वा गर्रा, सैराला, भैराला नाँचहरू पर्दछन् । यी नाँचहरू कोही बाजाको तालमा मात्रै नाचिन्छ भने कोही नाँचहरू गीतसँगै बाजाका तालहरूमा नाचिन्छ । तिनै नाँचहरूमा सिङ्गारू, मारूनी, दंगीनाँच र सैराला भैराला हुन् । सिङ्गारू भित्र बाइसजुमरा, लसरी, बनगारी तप्पा, पात्रे, झोल्यानी भाका ( महिलाहरूले मात्रै गाउने र नाँच्ने), जोगी भाका (पुरुषहरूले मात्रै गाउने जो दोता/दंगी/खपरे भएर अन्नेर वा तान्त्रिक कार्य गर्दै हिड्छ ।) पर्दछन् । दवारामा महिलाहरू मात्रै सामुहिक रुपमा नाँच्दै गाउँदै र घरघर माग्दै हिड्नेलाई सैराला भनिन्छ भने गाइने गीतलाई सैराला भनिन्छ । त्यस्तै दवारामै पुरुषहरू मात्रै सामुहिक रुपमा नाँच्दै गाउँदै र घरघर माग्दै हिड्नेलाई भैराला भनिन्छ भने गाइने गीतलाई भैराला भनिन्छ । यहिबाट विकसित भएर नै अहिलेको देउसी भैलोको विकसित भएको हो । कतै कतै आजभोलि पनि देउसी भैलो भट्याउँदा सैले हो भैले हो भन्ने गर्दछन् ।
वर्षको पहिलोपटक हिउँ पर्दा हिउँ खेलेर गाइने गीत : कानासोरोरो
मंसिर वा पुस या माघ महिनामा बर्षको पहिलोपटक हिउँ पर्दा हिउँ गाउँका सबै केटाकेटीहरू मिलेर सामुहिक रुपमा हिउँ खेल्दै, मोसो दलादल गर्दै, गाउँदै र प्रत्येक घर घरमा गएर मकै र दाउरा माग्ने गरिन्छ । त्यस कार्य वा खेललाई कानासोरोरो भनिन्छ । कानासोरोरो खेल्दा मागेका मकै र दाउरालाई एक ठाउँमा लगेर धेरै भए बेचेर कुनै भाले वा सुंगुर किनेर भोज गर्ने गरिन्छ । थोरै भए उतिखेरै भुटेर खाने गरिन्छ । मकै र दाउरा माग्दा वा कानासोरोरो खेल्दा पहिल्यै एक प्रकारको लयमा गाउँदै दिनेहरूको औकातलाई विभिन्न बस्तुहरूसँग तुलना गरेर माग्ने गरिन्छ र रहनीमा कानासोरोरो मकै भाले फोरोरो भन्ने गरिन्छ । गीतको ठ्याक्कै नाम नभएकोले मैले गीतको नामै कानासोरोरो राखिदिएको छु । र निश्चित समय र वर्षको पहिलोपटक हिउँ पर्दा मात्रै खेल्ने, नाँच्ने, गाउँने र माग्ने भएकोले मासे गीतमा समाबेश गरेको छु । तपाईंको गाउँठाउँमा यस गीतको नाम भए मलाई जानकारी गर्नु होला । धन्यवाद !
साभार : अथार मगरातमा गाइने मासे लोकगीतहरूको छोटो जानकारी :
सर्वाधिकार : लेखकमा

Comments
Post a Comment