दसन/दशै मगरात माटोको आफ्नै मौलिक चाड हो किनभने :
दसनमा विभिन्न कुराहरूलाई आफ्नै किसिमले फुङफाल दिने (पुज्ने) गरिन्छ । जस्तै :
• मगरहरूले दसनको दिन घरायसी वा दैनिक प्रयोगमा आउने सामग्री हलोजुवा, कुटो कोदालो, हँसिया, खुकुरी, बन्चरो, बन्दुक लगायतका हातहतियारहरूको पुजा गरि त्यस दिन विश्रामको रुपमा केही नगर्ने गरिन्छ । त्यति मात्रै नभएर सुनै संघार रुपै ध्वार भनेर घरको मैनेखम्बा, मुल ढोका र झ्यालहरू पनि पुज्ने गरिन्छ ।
• मौला (मृत्यु आत्माको बास हुने विश्वासले बनाइएको काठको खम्बा वा मूर्ति) जो मगर संस्कारमा प्राचीन समय देखि चल्दै आएको परम्परागत मृत्यु संस्कारको अन्तिम कार्य हो भने मृत्युु आत्मालाई कुल्यान वा पित्रका रुपमा हरेक दशनमा पुज्ने गरिन्छ ।
• रम्मा/झाँक्री धामीहरूको छेर्ला/झालामाला (सामग्री) र बैदाङ/जैस्यालहरूको थाति (मन्त्रको पुस्तक)को पुजा गरि पर्मोश्वरी/निमी घाममा देखाइ बाह्र भदौ पछिको मन्त्र जाँच गर्ने गरिन्छ ।
• बाह्र भदौमा जम्मा गरेको जडिबुटीहरू मौलासँगै पुजेमा उक्त जडिबुटीहरू बिना मन्त्र नै लाग्ने विश्वास र मान्यताले मुथुङ (झाँक्री, धामी र बैदाङ बाहेकका साधारण मान्छे)हरूले पुज्ने गर्दछन् र गरिन्छ ।
यसरी आफ्नै मौलिकता बोकेको मगरात भूमिको माटोले प्राचीन समय देखि मान्दै आएको दसनको रुपान्त्रित रुप अहिलेको दशैलाई कालो दशैँ भन्दै उफ्रिरहने मगर लगायत मंगोल समुदाय पनि देखिरहेको छ । दशन मगरहरूको परम्परागत मौलिक चाँड हो जो माथि उल्लेखित कुराहरूले नै प्रमाणित गर्दछन् ।
लिगलिगकोटे मगर राजा मानसिङ खड्का मगरलाई यसै पर्वको मौकामा जालजेलबाट मारिएर राज्य गुमाएको पक्का हो र त्यसपछि यताका समय गण्डकेली मगर समुदायमा दसनलाई हिन्दुकरण गरि दशैँको रुपले मान्दै आएको हो । तर राप्तेली क्षेत्रको विशेषगरी रोल्पा रुकुम र धौलागिरी क्षेत्रको बाग्लुङ म्याग्दीमा यसको खासै प्रभाव अझैसम्म परेको देखिदैन तर दसन भनेर आफ्नै किसिमले मान्दै आएको देखिन्छ । यसै क्षेत्रतिर तीन दिन दसन पाँच दिन दवारा (तिहार गोरु पुजाका दिन देखि सुरु हुने तर तिहारसँग गाभिएकोले अहिले तिहारले चिनिदै गरेको मगरहरूको मौलिक पर्व) भन्ने र मान्ने गरिन्छ। रोल्पा रुकुम देखि पश्चिम नेपालमा दशैलाई दसेरा भनेर मान्ने गरेको पाइन्छ ।
दसन हिन्दु पर्व होइन किनभने :
• हिन्दुहरूको बाहुल्यता भएको भारतमा दशै खासै मानेको देखिदैन, माने पनि नेपालबाट गएका गोरखालीहरूले मात्र मान्ने गरेको पाइन्छ ।
• दशै दुर्गाले दैत्य र रामले रावण मारेको दिन विजय दशमीको दिनका रुपमा मान्ने नेपाली हिन्दुहरू मात्र किन भए ? यदि यो कुरा सत्य हो भने भारतका हिन्दुहरूले पुरै दशै मान्नु पर्थ्यो ?
यसरी हाम्रो आफ्नै पर्वलाई राम्रोसँग अध्ययन अनुसन्धान नगरी खाइरहेको खानालाई कसैले जुठो हाल्दिँदा खान्न भनेर छोडेको जस्तै, पहिल्यैदेखि बस्दै आएको घरलाई अरु कसैले तिम्रो घर होइन भन्दा निमुखा भएर घर नै छोडेको जस्तै र बोका बोकेर हिडिरहेको बाहुनलाई केही धुर्तहरूले बारम्बार कुकुर किन बोकेको हो भन्दा साच्चै कुकुर हो कि भनेर फालेर गए जस्तै किन गर्दैछौँ ?
हो, जित्नेको इतिहास लेखिन्छ, हार्नेको इतिहास मेटिन्छ । तर हाम्रो पुर्खाहरू जालजेलले हारेर गए पनि इतिहास नलेखिए पनि हाम्रो अलिखित इतिहास हाम्रै टोल टोल, गाउँ गाउँ र ठाउँ ठाउँमा आफै बोलिरहेका छन् । सत्य त्यही नै हो । र, हामी किन हार्यौँ ? हाम्रो पर्वमा हाम्रै विनाशसँगै विरासत कसरी खोसियो ? त्यसको बारेमा हामीहरूले अरूले भनेको जस्तै सोच्ने कि आफ्नै किसिमले पनि सोच्ने ?
लिगिलगकोट पतन हुनु वा गुमाउनुको कारण :
• मगरहरूले चाँडपर्वमा जाँडरक्सी होसै गुमाएर मात्ने गरि खाएर मान्ने प्राचीन बानी व्यवहार र जातिगत गुण भएकोले ।
• दसनमा हातहतियार लगायतका सामग्रीहरूको फुङफाल वा पुजा गर्दै तिनै सामग्रीहरूलाई त्यसदिन छुँदै नछुने भएकोले ।
• गंगाराम राना मगर आफ्नो व्यक्तिगत दुश्मनी र राजा बन्न नसकेको कारण द्रव्य शाहका सेना कमान्डर भएर लिगलिगकोटेहरूको विरोधमा लाग्नुले । र,
• मगरहरू इमानदार, दानी तथा मनकारी हुनाले र दुश्मनले जाल बिछाउँन पठाएका जासुसीहरूलाई शरन दिनाले ।
यहि पर्व मान्ने चलन, बानी व्यवहार र गंगाराम रानामगर जस्ता आफ्नो हुन नसकेको आफ्नाको घरमा आगो लगाउने जस्ता कारणहरूले गर्दा मगरहरूले सदाको लागि आफ्नै पर्वमा आफ्नै विनाससँगै राज्य गुमाएको हो । किन भने त्यो भन्दा पहिलेको धेरै द्रव्य शाहको आक्रमणमा उल्तै धेरै पौज दफाहरूलाई लिगलिगेकोटे मगरहरूबाट ढुङ्गा पल्टाएर, भीरबाट छराएर, नदीमा बाधेको बाँध खोलिदिएर मारिदिएका इतिहासले भन्ने गरेको छ ।
यसरी हेर्दा दसन/दशै मगरहरूको आफ्नै मगरात माटोमा प्राचीनकालमै उत्पादित मौलिक चाड हो । यो हिन्दु चाड कदापि होइन तर, हिन्दुकरण गरिएको हो । यसै चाड मान्ने तरिका र रहनसहनको अवसर पारेर द्रव्य शाहले मगरहरूको अन्तिम राज्य सदाको लागि खोसेको सत्य हो ।
अन्यौल र सत्य कुरा :
• लिगलिगकोटसँगै मगरहरूको विरासत नामेट भएको चैते दशैमा हो भन्ने इतिहास छ । अनि, चैते दशैलाई असौजे दशैमा सारिएको हो भन्ने हाँसो लाग्दो मनगदन्थे कुराको आधारमा असोजको दसनलाई बहिस्कार गर्ने यो हाम्रो कस्तो विचार हो ? यदि चैते दशैमा लिगलिगकोटको पतनसँगै मगरहरूको सम्पूर्ण विरासत खोसिएको भए, विरोध र बहिष्कार त चैते दशैको पो हुनु पर्थ्यो ?
• एक थरी इतिहासले लिगलिगकोटको पतन भदौ पच्चीस गते भएको हो भन्छ । तर, अहिलेसम्मको इतिहासमा दशै भदौ महिनामा भएको कुनै इतिहास छैन् । अनि कसरी र किन असौजे दशैको बिरोध र बहिष्कार गरिन्छ ?
• दशैका दिनमा लिगलिगकोटको मगर राजा मारी राज्य खोसिएको हो भनेर कालो दिन मान्ने हो भने लिगलिगकोटको बिरोधमा लाग्ने लिगलिगकोटकै गंगाराम रानामगरलाई केको रुपमा मान्ने ?
• खास, लिगलिगकोटे मगर राज्यको सर्वनास चैते दशै, असौजे दशै र भदौ पच्चीस गते कहिले भएको हो ?
यसरी कहिलेसम्म कागले कान लग्यो भन्दा आफ्नो कान नछामेर कागको पछि पछि डौडीरहने हामीहरू ? अरूले बङ्ग्याइदिएको इतिहासको पुच्छर ओमोठ्याएर उफ्री उफ्री आफ्नै सत्य इतिहासलाई लात मारिरहने कहिलेसम्म ?
✍️बीजी मगर
Comments
Post a Comment