मगर समाजमा सिस्नोको कति महत्व छ भन्ने कुरा त उनीहरुले भोगीरहेको गतिबिधिले जनाउदछ । जिउँदा रहँदा सिस्नो खाने गरिन्छ भने पकाउँदा पानी र नुन बाहेक केही हालिदैन् । र, सिस्नो घोट्दा पाने हाल्यो भने आगो भएको अगुल्तो दुबाउने गरिन्छ । त्यो गरेको के हो भने स्वील (सिस्नु खाँदा एक्कासी मुटु दुखेर बिरामी हुने व्यथा ।) लाई मारेको हो । अनि सिस्नोसँग तिम्बुर बाहेक खुर्सानी पनि खानु हुँदैन भन्ने मान्यता छ किन भने खुर्सानीले पनि स्वील जगाउँछ । र, घरबाट कोही कसै काम विशेषले वाहिर जानु पय्रो पनि त्यस दिन पनि सिस्नो पकाइदैँन र खाइदैन । त्यस बाहेक चोटपटक लाग्दा नुन बेसारसँग पिसेर चोट लागेको ठाउँमा लेपन गर्दा पिर्रेको रगत सोसेर ताजा रगत लिउछ भन्ने मान्नेताले ओखतीको रुपमा पनि प्रयोग गरिन्छ । तन्त्रमन्त्रहरु र झारफुक गर्दा पनि झाँक्री धामी र बैदाङ्गीहरुले प्रयोग गर्ने गर्दछन् ।
यसरी जीवित रहँदा सम्म पनि हरेक कुरामा गासिएर आउँने सिस्नो मर्दा पनि तीन मुन्दो मोरो (कात्रो) माथि हान्दै घातसम्म लग्ने गरिन्छ । भने मान्छे मरेको घरमा एक महिना, तीन महिना, पाँच महिना, सात महिना र नौ महिनासम्म विजोर मास पारेर सिस्नो खान बार्ने गरिन्छ । र, कुनै राम्रो साइत पारेर चेलीवेटीहरुबाट सिस्नो फुकाएर खाने गरिन्छ भने यस्तो गर्दा चेलीहरुलाई दान दक्षीणा दिने गरिन्छ । जति सिस्नोको महत्व छ मासुको त्यति महत्व हुँदैन किनभने मृत्य संस्कारको अन्तिम काजक्रिया मरेकै दिन गरे पनि मृतक घर परिवारले त्यसै दिन मासु खान सक्दछन् । यसरी सिस्नोको यति महत्व रहेको हुन्छ । त्यस बाहेक वर्ष भरीमा असार महिनामा पनि सिस्नो बार्ने गरिन्छ ।
असार संक्रान्तिमा बिधिगत रुपमा जमिन (नाम)को पुजा र साउन संक्रान्तिमा मे (आगो)को गरेर भुमे पर्व मनाइन्छ । तर मगर संस्कृतिविद् र अन्य मगर संस्कारलाई हेर्ने गैरमगर विज्ञहरुले असार संक्रान्तिको भुमे वा बल्कुलाई मात्र दृष्टिघोचर गरेको पाइन्छ । सप्रमाण भन्नु पर्दा भु (जमिन) र मे (आगो)को रुप नै भुमे हो भन्दा फरक नपर्ला । किनकि हामीहरुले वास्तविक कुराहरुलाई हराउँन दिनु हुँदैन भने यथार्थतालाई उजागर गर्नुपर्दछ । नाम्क (भुमे) पर्वमा खास गरि खर्गै(बाँस वा निगालाको तुसा), मो (च्याउ) लगायत जंगली सागपातहरुको परिकार र फलफुलहरु खाएर मनाइने गरिन्छ भने यसै चाडबाट साउन संक्रान्तिसम्म भने कुनै आफन्ती मर्दा एक या तीन महिनासम्म बारिने तर त्यस्तो दुखद् घटना नपर्दा सधैँ खाइने सिस्नोलाई भने बार्ने गरिन्छ । असार संक्रान्तिमा भु वा नामको पुजा गरेर सिस्नो खान बार्ने गरिन्छ भने साउन संक्रान्तिमा आगोको पुजा गरेर सिस्नो फुकाइने गरिएता पनि अहिले यो संस्कार लगभग हराइसकेको छ । यो असार महिनामा सिस्नो खाएमा दाङजा (ठूलो सर्प) गुलाजा (सानो साँप) र बोक्रोप (भ्यागुतो) बच्चा जन्माइन्छ भन्ने जनश्रुतिका आधारमा बार्ने गरिन्छ । रुगुम अपभ्रंश रुकुमको लुुगुम अपभ्रंश लुकुमतिर आगोको पुजासँगै सबै थरका एक एक जना रम्मा (झाँक्री) र चुन्मी (रम्माको अगाडि हिड्ने अथवा झाँक्रीका सामान बोकिदिने झाँक्रीका चेलीबेटी लग्ने मान्छे वा चेलीबेटीका छोराहरु) एउटा चौतारामा सबै गाउँलेहरुसँग एकदिन रम्मा र सिस्नो मेला पनि गरिन्छ । सिस्नो मगर संस्कारमा खाने बाहेक तन्तर मन्तर, भारफुक, मर्दा पर्दाका धेरै संस्कारमा र ओखती लगायतका सबैमा प्रयोग गरिन्छ । यो त जानकारी गरेको मात्रै हो है हजुरहहरु । बरु तपाइहरुकोतिर के कस्तो छ यस सम्बन्धि संस्कार ? यसो जानकारी पाउँ है ।
र, भुमे मान्ने नमान्ने सबैलाई भुमेको हार्दिक मंगलमय शुभकामना....... बिजी मगर

Comments
Post a Comment