हामी सानो हुँदा गाउँघरमा धेरै खेलहरु खेल्दथ्यौँ । तिनै खेलहरु मध्यमा कबली गान्था (फर्सी गाँठो) पनि एक हो । नाटकीय रुपमा खेलिने यो खेल रमाइलो मात्र नभएर बालबालिकाले अतिनै रुचाउने खेल पनि हो । उपयुक्त ठाउँ घरभित्र र घर बाहिर जहाँ पनि खेल्न सकिने हुनाले नै यो खेललाई अति रुचाइने गरिएको हो तर आजभोली मोवाइल र कम्यूटरमा नेटबाट खेलिने खेलहरु आकर्षण बढेका कारणले यो खेल लगायत अन्य स्थानीय खेलहरु पनि लोप हुँदै गइरहेका छन् ।
कबली गान्था कसरी खेलिन्छ ?
यो खेल तीन जना भन्दा बढी जति पनि सङ्ख्यामा खेल्न सकिन्छ । यो खेल खेल्न तीन समूहमा मुली मूली वा बजै (केटा भए बाजे), माग्ने र कबली वा फर्सी पात्र विभाजन गरिन्छ । उचित स्थानमा खम्भा वा कुनै बलियो गाडिएको किलोमा मुली वा बजैले कुनै बरियो वा हातकै सहायताले कुनै पनि हालतमा नछुटिने गरी राम्रै आसनमा बस्ने गरिन्छ र बाँकी खेलाडीहरु मुलीको कम्मरमा समएर क्रमशः अगिल्लो खेलाडीको कम्मर समाएर एवं प्रकारले बस्ने गरिन्छ । बसाइको व्यवस्थापन र खेल खेल्न तयारी भइसके पछि माग्नेले नाटकीय रुपमै मूली वा बजैसँग कबली माग्न जाने गरिन्छ । तब माग्ने र बजै बीचमा नाटकीय वार्तालाप सुरु हुन्छ । माग्नेद्धारा जसरी पनि कबली फुत्काउने विभिन्न बाहना गरिन्छ भने त्यसरी नै बजैबाट पनि कुनै हालतमा कबली नदिने बाहना गरिन्छ । जब माग्नेले कबली फुत्काउने गर्छ तब बजैको अनुमतिमा कबली लाने पाउँने हुन्छ । र, माग्नेले कबली पाउँने भएको खुशीको स्वाङ पार्दै मूली बाहेकका अन्य खेलाडीहरुको टाउकोमा हात वा कुनै बस्तुले ट्वाक ट्वाक बजाउँदै यो छिप्पेको र मीठो हुने छकि छैन भने बिचार गर्ने गर्दछ । अनि अन्तिमको कबलीलाई यही मीठो र छिप्पेको रहेछ भनेर लहराबाट छुटाउने गरिन्छ । माग्नेले छुटाउनमा र कबलीले नछुटिमा बल गर्ने गरिन्छ । यदि अन्तिमको खेलाडी भन्दा अगाडीको खेलाडीबाट छुटिएमा त्यसलाई मान्यता दिइदैँन । लहराबाट कबली छुटेपछि कबली भूमिकाको खेलाडी माग्ने वा माग्ने बगालमा स्वतः सामेल हुन्छ । यसरी नै फेरी फेरी कबली माग्न जान्छ र बजैले पटक पटक माग्न आउने अब दिदैन भनेर बाहना गर्दछ र माग्नेले पनि त्यसै अनुसार नै फेरी पनि कबली लाने बाहना गर्ने गर्दछ र खेललाई नसकिँदासम्म निरन्तरता दिएर खेल्ने गरिन्छ । सबै कबलीहरु सकिँदा पनि माग्ने कबली माग्नै जान्छ र बजैले रिसाएको अभिनयमा भएको सबै कबली लगिसक्यौ अब मलाई नै लैजाउ भन्छ र माग्नेले बजैलाई पनि खम्भा वा किलाबाट छुटाउन प्रयास गर्छ यस प्रयासमा सबै कबलीबाट माग्ने भएकाहरु पनि लाग्ने गरिन्छ । यसरी नै कबली गान्थाको एक चरणको खेल सकिन्छ ।
अथार मगरात पोयाला झरे–र शिर्षकको पूरा नभएको मगर खाम भाषाबाटको मेरो आलेखबाट सारांस र अनुवाद सहित साभार गरेको हुँ । सल्लाह सुझाबको लागि अपेक्षा गर्दछु । साथै यस्तै कुराहरु थाहा पाउँनको लागि यसै मेरो आधिकारिक फेसबुक पेजमा पनि जोडिनु होला । धन्यवाद !
तस्वीर : आकृति मगर
जानकार : बीजी मगर

Comments
Post a Comment