✍️ प्रेमप्रकाश
जीवनको हाँगाबाट उडिगयो असार ५ गते । जो उडिआउने आकाश अब फेरि एकवर्षसम्म हेरिराखिने छ । थबाङमा साँझको सवा नौ बज्दै गर्दा सिमसिमे पानी परिरहेको थियो । घाग्य होटलमा पाहुनाको अटेसमटेस कायमै छ । वसन्तजीलाई भ्याइनभ्याई देखिन्छ । कवि व्योमजी अवतारसँग खाना खाएपछि सुत्ने तर्खरमा हुन्छु । सामान्य गफगाफसँगै व्योमजीको एउटा प्रश्न ममाथि तेर्सिन्छ- "साधु तपाईंले 'मायालु' किन हटाउनुभो यार ? त्यो त तपाईंको ब्रान्डेड उपनाम हो ।" उनको प्रश्नमा मौन बसिरहेँ । तर अझ थप्दै व्योमजीले भन्छन्- फेरि तपाईंले यसै नामलाई निरन्तरता दिनुस् । मैले अबचाहिँ भनेँ- मृत चिज जीवित फर्किदैन, मेरो ओरिजिनालिटी प्रेमप्रकाश हो-छु-हुनेछु, कर नगर्नुस् साधु । मेरो कुरामा व्योमजीले सायद जबर्जस्त सही थापे तर उनको अनुहारमा अस्विकारोक्तिको भाव प्रस्ट झल्किन्थ्यो । यसपछि उनी टिकटकतिर व्यस्त हुन्छन् र कतिबेला भुसुक्कै निदाउँछन् । तर मेरो मथिङ्गलले पृथ्वीजस्तै चक्कर लगाइरहन्छ । खासगरी प्रिय कवि स्वप्निल स्मृति दाजुलाई सम्झन्छु । प्रेम त प्रेमै हो नि यार- यसरी चित्त बुझाउन खोज्छु ।
जेठ ३१ मा थबाङ आएको हुँ म । बढीमा तीन दिनको बसाइँ योजना थियो । भाषा संस्कृति हाम्रो चिनारी हो । जसले पहिचान झल्काउँछ । जसलाई कथ्यमा सीमित राखियो भने समाप्तितिर जान्छ, लेख्यीकरण गरियो भने जीवित हुन्छ र त्यसको अस्तित्व बच्छ । यसप्रति जो कोही गम्भीर नभइरहन सक्दैन । थबाङ पालिकाको गाउँ शिक्षा समितिले कक्षा १-३ को मगर खाम पाठ्यपुस्तक निर्माण र कक्षा ४-५ को पाठ्यक्रम निर्माणको भाषा कार्यदल गठन गर्नुको तात्पर्य भाषाको संरक्षण नै होला । सो कार्यदलमा म र व्योमजी सदस्य छौँ । एकातिर भूमे पर्व र अर्कोतिर कक्षा १-५ को मगर खाम पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको चटारो बेस्सरी छ ।
व्योमजी ३२ गते बिहानै आइपुगेका हुन् उवाबाट । जुन दिन थबाङ गाउँभन्दा मास्तिर निस्केका थियौँ । मेरो तर्क थियो- कङ्क्रीटले थबाङ गाउँ खानै थालेछ । त्यसपछि व्योमजीले घर गन्न थाल्छन् र भन्छन् सिमेन्टेड घरले ४७ काटेछ । मैले फेरि थपेँ- "बाह्य सुन्दरताले थबाङ हिजोजस्तो मौलिक रहेन । परिस्थिति फेरिंदै जाँदा थुप्रै कुराहरू उस्तै रहँदैनन् । थबाङ त अब बजारोन्मुख हुँदै गएको छ ।" जोर बुढामगरको शब्दमा लेखिएको 'नमुना गाउँ थबाङ बजार' गीतको स्थायी अन्तराले पनि थबाङलाई बजारकै इङ्गित गरेको छ । गीतको कुमार शब्दले व्योमजी साधुलाई च्वास्स घोचेजस्तो सोच्छु । जसदिन अमिट दाइको घरमा सामना परिवार आएको खबर थियो, त्यता गइएन । किनकि दिउँसोको थबाङ तराईको गर्मीजस्तो रापिलो थियो ।
केके गर्दागर्दै असार १ गते आइजोहाल्यो । भूमे पर्वको उद्घाटनबेला कहिल्यै थबाङ आएको थिइनँ । योपटक यसैकसै संयोग जुर्यो । गोबाङको दौड हेर्ने रहर थियो । गापाको प्रशासन शाखा प्रमुख मदन रिजाललाई फोन गरेर सँगै गइयो । त्यो दिन व्योमजीले कुनै केटीको हात समाएर दौडिएको तस्बिर भाइरलै बन्यो क्यारे । त्यसभन्दा अगाडि जोरापानीबाट न्याहो गाउँदै आउने मूलथाङ्गे र मूलथाङ्गेनीको लस्कर हेर्ने समय भएन । के भनौँ, उहिले उहिलेको क्यामेराको रिलजस्तो मस्तिष्कभरि पाठ्यक्रम पाठ्यपुस्तक निर्माणको रिलले चक्कर लगाइरहन्छ । तर मौसम जेठानले सेयर गर्नुभएको अघिल्लो वर्षको न्याहो-भिडियो हेरियो, मज्जा आयो । अलिकति राहतको महसुस त भयो नै ।
र, प्रेमिल कवितामा यसोकसो भन्न मन लागेर आयो--
म हुँ नाम्कको मूलथाङ्गेतिमी पनि बनिदिनू मूलथाङ्गेनी...
लिएर जलजलाबाटमैले सिउरिदिउँला रथबिरथ~ तिम्रो चुल्ठोमातिम्ले पनि बाँधिदिऔलाबुकी फूल~ मेरै देब्रे छातीको चौबन्दी तुनामा
न्याहो गाउँदैजोरापानीबाट समाएर एकर्काको हातनिस्कौँला प्रेमिल यात्रामार जुनीजुनीलाई बाँचौँला पुर्खाको धर्म थामेर ।
खडेरीको समय छ । दिउँसोको मौसम कुरुप छ । पहिलो दिनको दौड प्रतियोगितामा गोबाङ डेराको धुलो फोक्सोसम्म कति पुग्यो-पुग्यो । व्योमजी नाच र रमाइलोतिर व्यस्त थिए । मचाहिँ सरासर कोठातिर आएँ । केही समय कक्षा १ को मगर खाम किताबको परिमार्जनतर्फ आँखा डुलाएँ । नाँच हेर्न गइनँ । तर बेलाबेला मस्तिष्कमा मूल कुरा धारिलो भएर आइरहन्थ्यो । बेल सरले जोड्छन्- यो काम छिटो सक्न पाए पनि हुन्थ्यो । तर पर्व हो, जोडबलले ताकेता लगाउन पनि उस्तै अप्ठ्यारो जस्तो । केही हुन्छ जस्तो, केही हुन्न जस्तो पनि । घडीको सुई त आफ्नै सुरमा दौडिरहेको छ । समयभन्दा बलवान् कोही छ ?
असार २ गते महतमा भूमे महोत्सवको उद्घाटन थियो । थुप्रै मानिस बिहानैदेखि उतैतिर सोझिए । डेढ घन्टाका लागि भनेर कार्यदलका अर्का सदस्य बेल सरसँग उतै हानिएँ । उता पुग्दा उद्घाटन सुरु नभइसकेकाले युद्ध स्मारिका स्थलतिर उक्लियौँ । भूमे पालिकाले निर्माण गरेको जनयुद्धको झल्को दिने त्यो ठाउँमा पुग्दा यसैउसै अनौठो उत्साह जाग्छ । देशप्रेम भनेको चानचुने कुरा हो र ? सोचमग्न हुन्छु । त्यसदिन पानी परेकाले रुझ्दै बेल सरसँग फर्किएँ । व्योमजी अलि अगाडि नै फर्किएका थिए । एक किसिमले उनको दौडधुपजस्तो चलिरहेको थियो । थबाङ आइपुगेर नाच्न पनि भ्याएछन् । तर बेल सर र मेरो त कोठामा आएर उही किताबकै अनौपचारिक गफ चल्छ । विहे गर्नु कहिलेकहिले- बच्चाको कुरा गर्नु अहिले, भनेकोजस्तो । हेँहेँ ...
असार ३ गते बिहानै मगर पोसाकमा निस्कन्छन् व्योमजी । म र बेल सर आफ्नै बेसुद्धिमा हुन्छौँ । दिमागमा उही एउटै कुरा बारबार दोहोरिरहन्छ । कोठाभित्र गुम्सिएर एउटै कुराबारे सोचिबस्नु पनि तनावै हो र घाग्यको माथिल्लो छतमा निस्केर तहलिन्छौँ । साँच्चै मान्छेको चित्त कसरी पो बुझ्छ होला ? मान्छेभित्रको असन्तुष्टि प्रवृत्ति केले हटाउँछ ? हर कुरा समयको कालखण्डमा पूरानो हुन्छन् । जमानाले चाहना बढाउँछ । नजानिदो ढंगले जमाना त धेरै फरक भइसकेको हुँदो हो सायद !
खैर, फेरि ४ गते आइसक्छ । व्योमजीको उर्दी छ- आज त भूमे नाच्नुपर्छ, रमाउनुपर्छ । अर्को वर्ष केहो- के हो ? एकछिन बेल सर र मलाई व्योमजीले सोचमग्न बनाइदिन्छन् । पोसाकै छैन नत्र नाचिन्थ्यो- हामी दुवैको बहाना जो थियो । मनको कथा कल्लालाई के था ? तर आफैसित ढाँट्न नसक्नुको कथा छँदै छ । स्वैरकल्पना त क्षणिक पो हुन्छ नि हौ !
व्योमजीले भनेजस्तै म नाच्न कहिल्यै निस्केनँ । तर त्यस दिनदेखि साँझपख एकछिन नाच हेर्न निस्कन्थेँ । उतै पनि गापा अध्यक्ष र विनिसँग उही विषय प्रसङ्गै चल्छ । नाचतिर उत्तिको ध्यान जाँदैन । उस्तैगरी भूमे नाच नाचिसिद्धिन्छ । सायद म कताकता छुटिरहेँ । मेरा नजर अनेक दृश्यहरूबाट छुटिरहे । कैयौं प्रिय मानिसलाई बेवास्ता गरेजस्तै आफ्नै कर्कस लयहरूमा बगिहिँडे हुँला । कत्ति धेरैजनासँग अनायास अलप भइगएँ ।
म सान्साना कुरामा खुसी हुन सिक्ने मान्यतालाई स्विकार्छु । दुईतीन दिनका एक डेढ घन्टाको अवधिमा भेटिएका जान-अन्जान मानिसहरू मस्तिष्कको ह्याङ्गरमा झुन्डिरहन्छन् । एकै नजरले हेरिएका कुनै प्रिय मानिसको झल्कोले दिमागको ह्याङओभरलाई घटाइदिन्छ । कुनैकुनै सुन्दर कुराहरूले जीवनलाई सहजजस्तो महसुस गराउँछन् । यसैबिच कवि मित्र डीएम निशारको 'फरक यात्रा' पेजबाट आएको अमिट दाइसँगको भिडियो क्लिप मज्जाले हेरियो । उक्त क्लिपबाट भूमे पर्वबारे प्रायःजसो कुरा थाहा हुन्छ । उनै मित्र डीएमले भिडियो संवादमा मलाई केही कविता वाचन र कविताबारे बोल्न आग्रह गर्दै हुनुहुन्थ्यो । व्यस्तजस्तो अस्तव्यस्त समय जो चलिरहेको थियो । यसबेला समय जुरेन भनौँ । तर यसो भन्छु~ कि कविता र प्रेमबारे संसारमा अनेकौं मान्छेहरू बोलेका छन् । वास्तवमा कविता र प्रेम जीवनभन्दा उच्चस्तरको विषय हो । जसले जीवनलाई बाँच्ने ऊर्जा दिन्छ र सही मार्गमा डोर्याउँछ । अब दाङतिर झर्दाखेरि डीएमजीसँग कविता पढ्ने अवसर जुर्ला नै । आशाको पछिल्तिर लर्बरिदै यसो सोचिहालेँ ।
यसैदिन साँझमा अर्का प्रिय पत्रकार गोविन सहयात्रीसँग एकैछिन घाग्य होटलमा भेट हुन्छ र कवि राजु स्याङ्तानको 'ओ पेङ्दोर्जे'बाट एउटा कविता 'छुटेको प्रचण्ड' मेरो आवाजमा भिडियो रेकर्ड हुन्छ । अहिले उक्त भिडियो फेसबुकको भित्तामा छरपस्ट छ । गोविनजीको बेफुर्सदबारे बोल्नैपरेन । यसबेला उनलाई एकसेकेन्डै फुर्सद थिएन । अर्कोतिर प्रिय कवि नवीन लोचनसँग साह्रो गफ गर्नै भ्याइएन । नवीनजी उसैदिन फर्किएछन् । यसदिन शिक्षक मित्र रामलखनसँग पनि भेट भयो, कि जोसँग झिनोमसिनो गफगाफ चल्यो । शिक्षण पेसाबारे बोलिनसकिएला पनि । देशको दक्ष जनशक्ति उत्पादन गर्नु खेलाँचीको विषय कहाँ हो र ? यस्तैमा प्रिय भतिज रुपकसँग एकदुई झलक भेट हुन्छ, ऊसित हेलो हाईबाहेक बढी केही कुरो हुँदैन । कत्ति कत्तिसँग देखभेट भयो, ती सबै मानिस प्रिय आफन्त हुन् । सबैप्रति विश्वबन्धुत्वको भावना राख्दछु । हरेक सुन्दर क्षणहरू यसरी नै आएर जान्छन् । बरु मिठा पलहरू हृदयमा अमिट छाप भएर टाँसिन्छन् ।
आज असारको ५ गते । भूमे पर्वको अन्तिम दिन । अमिट दाइसँग गोधूलिमा मिठो भेट हुन्छ । मैले उहाँसँग भूमे पर्वको समापन र न्याहोको अर्थबारे सोधेर खुल्दुली मेटाएँ । दाइसँगको भिडियो संवाद मोबाइलमा सुरक्षित छ । जीवनको एउटा मोडलाई सम्झनाहरूका शितलो बाछिटाले स्वर्णिम बनाइदिँदारहेछन् । अर्को वर्ष जलजलामा एकदुई चाला भूमे नाच्ने रहर छ । शुद्ध बुकी फूलहरू टिपेर सेल्फी खिच्ने मन छ । संस्कृतिको आदिम संगीतमा नाम्क गीतहरू गाउने सोच छ । यस्तै केके सोचिरहँदा अरू धेरैधेरै सुन्दर सपनाहरूका लागि निद्रादेवीको काखमा सुतेछु ।
र, नाम्कले प्रकृतिलाई सुन्दर बनाइरहोस् । सांस्कृतिक रुपान्तरणका लागि न्याहो गाइरहनु छ । गुलियो सम्झनाका निम्ति- न्याहो ।

लेख रचना राम्रो छ सर
ReplyDelete