✍️प्रेमप्रकाश
राँके तिवार । श्रावण महिनाको पहिलो साता । परापूर्वदेखि चल्दै आएको सांस्कृतिक पर्वको एउटा निरन्तरता । जो पहिचानको अर्को अनुशासित आन्दोलन हो । सभ्यताको एउटा मूल प्रस्तुति हो । हामीले आफ्नो असली परिचय दिने माध्यम पनि हो ।
श्रावणको एक गते । ४ र ५ नं. वडाध्यक्षद्वयले संयुक्त रुपमा मेलाको उद्घाटन गर्नुभयो । जेपी लुङ असारको १४/१५ देखि नै बेस्सरी सक्रिय थिए । ५/६ दिन अभ्यास चलेको थियो । आजसम्म उनले मेला समितिको सचिवको सराहनीय भूमिका खेल्दै आएका छन् । उद्घाटनको दिन एसके आमा समूहको सहभागिताले सान्सानो पाठ सिकायो । कवि व्योमजी अवतारको मगर खाम भाषाको कविता सुनियो । सांस्कृतिक रुपान्तरण तथा हाम्रो आदिवासी सौन्दर्य र पहिचानको सवालमा थुप्रै मन्तव्य सुनियो । प्रत्येक वर्ष साविक उवाको संयुक्त राँके मनाउने बहस चल्छ । तर निष्कर्षमा पुग्दैन । यसका फाइदा बेफाइदा दुवै होलान् । तैपनि मूलत: सांस्कृतिक एकताको बाटो मिलेर मात्रै फराकिलो बन्छ । संस्कृतिले नै हाम्रो व्यवहार भएकाले त्यसले मान्छेलाई एकठाउँ पुर्याउँछ । यो कुरामा सायद गम्भीर बन्नैपर्छ ।
उद्घाटनको साँझमा सान्सानो छलफल थियो । इप्रका उवाका प्रमुख देवेन्द्र विक्रमज्यूले शान्तिसुरक्षाबारे राम्रो ब्रीफिङ गर्नुभयो । साउन २ गतेदेखि खेलकुद प्रतियोगितासँगै हरदिन राँके नाच चल्यो । कुनैकुनै समयमा ठूलो वर्षा भइरह्यो । हरसाँझ छिट्टीझ्याम चल्यो । मामा कमारा राँके नाचका संयोजक हुनुहुन्थ्यो । नाच व्यवस्थापनमा उहाँको भूमिकालाई नकार्ने ठाउँ रहेन । खेलकुद प्रतियोगिताका संयोजक रामकुमार सालो थिए । समयमा खेलाडी नआइदिने र ससाना नियोजित कुराले उनलाई बढी तनाव पर्यो । यो जमानामा स्वयंसेवकको काम त कमै मान्छेले मात्रै गर्छन् । तर आकाश र भुजिमनलगायतका केही युवाले स्वयंसेवकको उदाहरण पेस गरे । फिल्डमा खटिएर काम गर्नु र बाहिरबाट हल्का रूपले बोल्नुकाबिच कैयौं अन्तरहरू हुन्छन् । ती अन्तरहरूकाबिच रामकुमार सालो र केही युवाहरू सफल देखिए । बियाँ नभएको चामल कहाँ पाइन्छ ? तर बियाँहरू फोहोरमै फालिन्छन् ।
प्रतिकूल मौसमले गर्दा मेला लम्बिरहेको थियो । ७ गते मेला सक्ने योजनाअनुरुप ४ नं. वडाध्यक्ष र कवि व्योमजी अवतार मेला आए । त्यसदिन मेला नसकिने अवस्था देखिएपछि मज्जाले सँगसँगै नाचियो । फोटा खिचेर ग्यालरी भरिए । छिट्टीझ्याम पनि खुब नाचियो । प्रिय भाइ शुभमले सिङ्गो मेलाको लाइभ सेयर गरिरहे ।
७ गते साँझै हार्जुवामा हाम्रो पुस्ताको प्रतिनिधि बसाइँ भयो । जो अर्को गजबको संयोग थियो । ४ नं. वडाध्यक्ष- हिकमत घर्तीमगर, कवि- व्योमजी अवतार, सचिव- जेपी लुङ, निर्माण व्यवसायी- प्रगति पुनमगर, मावि उवाका सहायक कर्मचारी- विक्रम रोकामगर, खेलकुद संयोजक- रामकुमार रोकामगर र म थियौँ । जुन बसाइँमा उवाको हिजोको पोजिसन, हालको वास्तविकता र भोलिको सम्भाव्यताबारे गनीभूत छलफल चल्यो । एस्ट्रेमा चुरोटको ठुटो फाल्दै व्योम र प्रगतिले बेलाबेला भावुक कुरा गर्नुहुन्थ्यो । निवर्तमान गाउँपालिका अध्यक्ष वियोग दाइको उवाप्रतिको एउटा विश्लेषणमा हामीले सही थाप्छौँ । तर हाम्रो पोजिसनलाई माथि उठाउन व्यावहारिक रूपले जिम्मेवार हुनुपर्नेमा देखिरहेको हिच्किचाहटलाई नकार्न सकेनौँ । तर प्रयास हाम्रै काँधमा छ । गलत प्रवृत्तिका विरुद्ध बोल्नुपर्ने कुरामा व्योमको जोड थियो । राम्रो गर्नुपर्नेछ भने सारा जिन्दगी छोडेर लाग्ने तर्क प्रगतिको थियो । जेपी र विक्रमले बेलाबेला गम्भीर प्रश्नहरू उठाउथे र त्यसबारेमा प्रस्टीकरण हिकमतजीले दिन्थे । होटलेको राँगो सुकुटी र कोक कटिरहेकै थियो ।
समकालीन पुस्ता पेचिलो बाटो हिँडिरहेको कुरामा हामीले कम बोलेनौँ । कहिलेकाहीँ साना कुरामा अघिल्लो पुस्ताले टेरपुच्छर नलाउने तथा पछिल्लो पुस्ता र हाम्रा पुस्ताका केही युवाहरू हावातालमा उफ्रने गरेको सत्य पनि हामीले ओकल्यौँ । बेलाबखतका परिस्थितिमा हाम्रा पुस्ताका केही साथीको भ्रमित मनोविज्ञान देखिएकोप्रति हाम्रो चिन्ता रह्यो । २०८० मंसिर ५ को थर्पूको ऐतिहासिक बहसले केही बहसहरू सिर्जना गरेकोबारे हामी सहमत थियौँ । हज्जारौं बहसबाट हामी स्पातिलो बन्न चाहन्छौँ ।
आगामी समयमा ४ नं. वडा र हिकमतजीको कदमसम्बन्धी आधा दर्जन प्रश्नहरू मैले नै सोधेको थिएँ । केही ठोस उत्तरहरू आए । हिकमतजीले आफूप्रति व्योमजीको विगतका सौहार्दतालाई अनेकचोटि मुक्तकण्ठले प्रशंसा गरे । व्यवस्थाले मान्छेको प्रवृत्ति बिग्रेको कुरा हामीले स्विकार्यौँ । हाम्रो आगामी यात्राबारे हिकमत र व्योमजीको पटकपटक ध्यानाकर्षण रह्यो र हामीले गम्भीरतापूर्वक लियौँ । विशेष परिस्थितिमा सही र जोखिम कदम उठाउनेहरू नै असली यात्री हुन् ।
छलफल झनै यथार्थपरक बन्दै गइरहेको थियो । सजिलै रातको १२ बजिसकेको थियो । तर यस्ता धेरधेरै सवालमा हामीले जीवनका कैयौं १२ हरू बजाउनु आवश्यक छ । आत्मिक र भावनात्मक बसाइँले आगामी यात्राको मार्गप्रशस्त गर्छ । हामीले एकताको संस्कार विकास गर्नुपर्ने अत्यावश्यक छ । 'एक थुकी सुकी- सय थुकी नदी'लाई मनन नगर्ने त ?
८ गते मेला समापन भयो । निष्कर्षत: सांस्कृतिक रुपान्तरणको सान्सानो झल्को मेटाइयो । परिष्कृत र परिमार्जित संस्कार निर्माणको आधारशिविरमै उभिएको महसुस भयो । तसर्थ प्रत्येक वर्ष संस्कृतिको राँको बाल्नु छ । कुसंस्कारको पोको जलाउनु छ । सुदृढ छिट्टीझ्याम नाच्नु छ । विकृति र विसङ्गतिहरूलाई सधैँका लागि उवाखोलामा बगाउनु छ । अन्धो भूत र लङ्गदो सेउरेहरूलाई हरिगुन्धा कटाउनु छ । र, उवाखोलामा कालान्तरसम्म संस्कृतिको आदिम महोत्सव लगाइरहनु छ ।
मंगलम् संस्कृति । मंगलम् पहिचान ।।
Comments
Post a Comment